राष्ट्रिय

सुन तस्करी प्रकरणका आरोपित पूर्वसभामुख महरा पक्राउ

- केएफएम डेस्ककाठमाडौं

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआइबीले झन्डै तीन बर्षअघिको सुन तस्करीका एक जना आरोपित पूर्वसभामुख एवम् माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका बेला प्रहरीले आज पक्राउ गरेको हो ।

उहाँलाई ललितपुरको खुमलटारबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको घटनामा महरालाई उन्मुक्ति दिइएको भन्दै आलोचना भइरहेको थियो ।

यही अवस्थामा अख्तियारले महरासँग सुन तस्करी प्रकरणमा केही दिनअघि बयान लिएको थियो ।

२०७९ साल पुष १० गते दुबईबाट आएका चिनियाँ नागरिक लि हान्सोङले नेपाल भित्र्याएको ८ करोड ५५ लाख रुपैया भन्दा बढीको अवैध सुन वेचविखन गरी संगठित रुपमा अपराधिक लाभ लिने कार्यमा महरा जोडिनुभएको हो ।

त्यसपछि २०८० चैतमा प्रहरीले उहाँलाई पक्राउ गरी अनुसन्धान गरेपनि पछि छाडेको थियो ।

तस्करी गरेर ल्याइएको सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लाग्दै आएको छ । माओवादी केन्द्रका नेता महरा ४ पटक सांसद र ६ पटक मन्त्री हुनुका साथै प्रतिनिधिसभाको सभामुख समेत बन्नुभएको थियो ।

सो प्रकरणका महराका छोरा राहुल यसअघि पक्राउ परेर कारागार चलान भएका थिए ।