राष्ट्रिय

पूर्व उपराष्ट्रपति पुनमाथि प्रहरी अनुसन्धान सुरु

- केएफएम डेस्ककाठमाडौं

सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 प्रहरीले पुनसँगै उहाँका छोराहरूविरुद्ध पनि अनुसन्धान अघि बढाएको हो । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुन पनि तानिएपछि उहामाथि अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए । दुई पटक उपराष्ट्रपति भइसकेका माओवादी नेता पुन र उहाका दुई छोरा जितेन्द्र र दीपेश तथा पुन उपराष्ट्रपति छँदा वैदेशिक मामिला विज्ञका रूपमा नियुक्त जीवन गुरुङविरुद्ध पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ । 

जितेन्द्रले हुम्लापारि चिनियाँ भूमि ताक्लाकोट पुगेर तमसुक गरी ४ किलो सुन बुझेको भिडियो र तस्बिरसहितको समाचार २ वर्षअघि सार्वजनिक भएको थियो । पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा दीपेश २०८० सालको असारमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र त्यसअघि २०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा मुछिएका थिए ।

विद्युतीय चुरोट भेप भित्र लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । महरामाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप छ ।