राष्ट्रिय

लुटिएका हतियार नियन्त्रणमा लिन विशेष अपरेशन गर्ने सरकारको तयारी

- केएफएम डेस्क काठमाडौं

गृह मन्त्रालयले मुलुकको शान्ति सुरक्षा, अपराध नियन्त्रण, आसन्न निर्वाचन, सुशासन र सार्वजनिक सेवा प्रवाह लगायत क्षेत्रमा प्रभावकारी कदम चाल्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

 जेन जी आन्दोलनपछि विकसित घटनाक्रमसँगै सुरक्षा चुनौतीलाई लिएर चासो र चिन्ता बढिरहेका बेला गृहमन्त्रालयले विभिन्न निर्देशन जारी गरेको हो । गृहमन्त्रालयका अनुसार विभिन्न प्रहरी कार्यालयमा लुटपाट र आगजनी गरी चोरी भएका ४ सय हतियार अझै फिर्ता हुन सकेको छैन । पटक पटक हतियार फिर्ता गर्न भनिएपनि नभएकाले अब विशेष अपरेशन सुरु गर्ने तयारी गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभयो ।

लुटिएका हतियार फिर्ता हुन नसकेकाले चुनावका लागि सुरक्षित वातावरण बन्न नसक्ने भन्दै दलहरुले टिप्पणी गरिरहेका बेला सरकारले त्यसका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको हो । गृहमन्त्री अर्यालले हतियार फिर्ता गर्ने सन्दर्भमा राजनीतिक दलहरुले त्यसको प्रयोग नगर्ने प्रतिवद्धता जनाउनुपर्ने बताउनुभएको छ ।

यसैबीच, गृहमन्त्रालयले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको माहोल बनाउन जिल्ला तहमा विभिन्न गतिविधि गर्ने भएको छ ।