राष्ट्रिय

आज लक्ष्मीपूजा मनाइदै

- केएफएम डेस्क काठमाडौं

यमपञ्चक अन्तर्गत आज लक्ष्मीपूजा गरेर मनाइदैछ । आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजाको दिन घरदैलोमा गएर भैलो खेल्ने प्रचलन रही आएको छ ।

यसैबीच, आज कुकुरलाई पूजा गरी मिठा खानेकुरा दिएर कुकुर तिहार मनाइएको छ । एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा परेको हो । पछिल्लो चार वर्ष यता लगातार यी दुवै पर्व एकै दिन परेका हुन् । संस्कृतिविद् प्राध्यापक डा. रामचन्द्र गौतमले तिथिको घटबढका कारण कुकुरपूजा कै दिन लक्ष्मी पुजा पर्न गएकोे बताउनुभयो ।