राष्ट्रिय

जलजला र हम्पाल लेक पुग्ने पर्यटकको संख्या बढ्दै

- केएफएम डेस्ककाठमाडौं

पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

वर्षायाम सकिएलगत्तै दैनिकजसो दर्जनौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न र अवलोकन गर्न त्यहाँ पुग्ने गरेका हुन् ।

जलजलालाई विभिन्न क्षेत्रसँग जोड्ने व्यवस्थित पदमार्ग, सडक मार्ग र होटल तथा विश्रामस्थललगायत संरचना र आवश्यक पूर्वाधार बनेपछि पर्यटकीय याम सुरु हुनेबित्तिकै पर्यटकको आगमन बढ्ने गरेको हो ।

गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा पर्वतको मोदी गाउँपालिका–१ माटेबाट जलजलासम्म दुई किलोमिटर लामो ढुंगाको सिँढीसहितको पदमार्ग निर्माण गरेको छ ।

पर्यटन तथा उद्योग कार्यालयमार्फत सञ्चालित सो आयोजनाअन्तर्गत तीन ठाउँमा विश्रामस्थल पनि बनाइएको उपभोक्ता समितिका सचिव टीका पुनले जानकारी दिनुभयो ।

समुद्री सतहबाट ३ हजार ३०० मिटर उचाइमा रहेको माटेबाट दुई हजार मिटर उचाइमा रहेको जलजलासम्मको यात्रामा अन्नपूर्ण र धवलागिरि हिमश्रृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।