सबै पक्षलाई संयमित रहन मानवअधिकार आयोगको आग्रह
काठमाडौंराष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरु शान्तिपूर्ण रुपमा राख्न प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको हो ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रम पश्चात विभिन्न समूहले पुनः प्रदर्शन गर्न लागेको भनी विभिन्न माध्यमबाट आएका जानकारी र सोबाट शान्तिसुरक्षा तथा मानव अधिकारको उपभोगमा उत्पन्न हुने अवरोधप्रति आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समस्याको समाधान वार्ता र संवादबाट मात्र सम्भव हुनेमा आयोगले जोड दिएको छ ।
नागरिकले राखेका मागहरु समयमै उचित सम्बोधन गर्न तथा नागरिकको शान्तिपूर्ण प्रदर्शंन गर्ने अधिकार तथा मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोगले सरकारलाई आव्हान गरेको छ ।
आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन समेत ध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन समेत प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड दिएको छ । यस्तै, प्रदर्शनरत पक्षले आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने, उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्नुपर्नेलगायत कर्तव्य निर्वाह गर्नुपर्ने आयोग विज्ञप्तिमा उल्लेख छ ।