राष्ट्रिय

मोन्था चक्रवात प्रभावले मौसममा बदली

काठमाडौं

बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा परेको छ । मोन्था चक्रवातको असर देखिन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरुमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ । 

आज बिहानदेखि भोलि बिहानसम्म कोशी, बागमति र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपात हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । कोशी, बागमति,मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै सतर्कता अपनाउन भनेको छ ।

 प्राधिकरणले कोशी प्रदेश, मधेश प्रदेश र बागमति प्रदेशका सबै जिल्लाहरुमा सतर्क रहन आग्रह गरेको हो । यस्तै,गण्डकी प्रदेशका गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मनाङ र मुस्ताङ र लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपेन्देही, कपिलवस्तु र दाङ जिल्लालाई सतर्क रहन आग्रह गरेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

यसैबीच, प्राधिकरणले अत्यन्त जरुरी नभएसम्म यात्रा नगर्नसमेत अनुरोध गरेको छ । प्रभावित हुन सक्ने नदी किनारका बासिन्दालाई पनि सतर्क रहन प्राधिकरणको सुझाव छ । त्यस्तै धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन पनि प्राधिकरणको सुझाव छ ।