राष्ट्रिय

हिमाली भेगमा अलपत्र दुई हजार पर्यटकको उद्धार

- केएफएम डेस्क काठमाडौं

वर्षा र हिमपातका कारण देशका हिमाली भेगमा अलपत्र परेका करिब दुई हजार आन्तरिक तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । 

पदयात्राको मुख्य सिजनमै भएको भारी हिमपातका कारण मनाङ, मुस्ताङ, म्याग्दी र गोरखाका उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा अलपत्र परेका स्थानीय, आन्तरिक र बाह्य पर्यटक गरी एक हजार पाँच सय जना स्थानीय र आन्तरिक पर्यटक तथा दुई सयभन्दा बढी विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको हो । हिउँमा फसेका केही पर्यटकको उद्धार जारी छ ।

 मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार मनाङका तिलिचो, खाङ्गसार, पिसाङ्ग, उपल्लो मनाङलगायत क्षेत्रमा अलपत्र परेका सबै पर्यटकको उद्धार सम्पन्न भएको छ । हिमपातका कारण म्याग्दीको धौलागिरि सर्किट हुँदै मुस्ताङ जाँदै गरेका पर्यटकको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।