कर अधिकृत र निर्माण कम्पनीबीच मिलेमतोमा १ करोड २३ लाख हिनामिना
-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत र एक निर्माण कम्पनी र त्यसका प्रबन्धक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मोरङको सुन्दर हरैँचा नगरपालिका भित्र पर्ने स्थानीय गछिया खोलाको नदिजन्य पदार्थ उत्खनन्का लागि छनोट भएको धरानस्थित स्वामिनारायण निर्माण सेवा प्रा.लि, सो कम्पनीका प्रबन्धक सन्तोष कुमार बस्नेत र राजस्व कार्यालयका तत्कालीन कर अधिकृत तिलक आले विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुदा दायर भएको हो । उनीहरुबाट १ करोड २३ लाख ६९ हजार ६ सय ४९ रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गछिया खोलामा नदीजन्य पदार्थ उत्खनन्का लागि स्वामिनारायण निर्माण सेवा प्रालि, धरानसँग भ्याटबाहेक ९ करोड ५१ लाख ५१ हजार ५१ रुपैयाँमा मा ठेक्का सम्झौता गरेकोमा कम्पनीले १ करोड २३ लाख ६९ हजार ६४९ भ्याट आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने भएपनि अधिकृत र ठेकेदारबीचको मिलेमतोमा सो रकम हिनामिना गरेको पाइएको छ ।