काठमाडौं उपत्यकाका मेयरसँग प्रधानमन्त्री कार्कीको छलफल
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका मेयरहसँग छलफल गर्नुभएको छ । उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग हिजो साँझ बालुवाटारमा छलफल गर्नुभएको हो । उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखले प्रधानमन्त्री कार्कीको नेतृत्वमा तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । त्यसका लागि सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ थियो ।
भेटका क्रममा स्थानीय सरकार प्रमुखले आफूहरूले भोगिरहेका समस्याका विषयमा पनि प्रधानमन्त्रीसमक्ष अवगत गराएका थिए । फोहोर व्यवस्थापनको समस्याको गाँठो फुकाइदिन र सडक बत्तीको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन पनि मेयरले प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको बताइएको छ ।
ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफू निर्वाचित भएर आउनुअघिको समेत बक्यौता रहेको जानकारी दिँदै सो रकम राफसाफ गरिदिन अनुरोध गर्नुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा–छहरे बाटो चौडा पार्न स्थानीयलाई मुआब्जा दिने निर्णय गरिदिन आग्रह गर्नुभयो ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले भदौ २४ गते जेन–जी आन्दोलनसँग सम्बन्धित नै नभएका व्यक्तिहरुले व्यक्तिका घरघरमा लुटपाट मच्चाएको भन्दै तिनलाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग गर्नुभयो । प्रधानमन्त्री सुशीला कार्कीले आफू अहिले निर्वाचनमा केन्द्रित रहेको जानकारी दिँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।