एन्टीबायोटिकको जथाभावी प्रयोग नगर्न सरकारको आग्रह
काठमाडौंजथाभावी एन्टिबायोटिक औषधी प्रयोगले गम्भीर स्वास्थ्य समस्या उत्पन्न गर्ने भएकाले चिकित्सकको सिफारिसमा मात्र सेवन गर्न सरकारले आग्रह गरेको छ । एन्टिबायोटिकको प्रयोगले प्रतिजैविक प्रतिरोध भई बिरामी पर्दा सामान्य औषधीले काम नगर्ने भएकाले जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।
यसैविच, सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना मनाइरहेको छ । प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) विरुद्धको आवाज उठाउँदै सरकारले प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाएको हो ।
यस वर्ष ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ भन्ने नारा तय गरिएको छ । रातो धर्का भएका औषधि चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रेसक्रिप्सन बिना सेवन गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रातो धर्का भएका औषधिहरु सधै स्वास्थ्यकर्मीको सल्लाहमा मात्र सेवन गर्न मन्त्रालयको आग्रह छ ।