राष्ट्रिय

'डिजिटल हिंसा न्यूनिकरणका लागि कानून निर्माण अत्यावश्यक'

काठमाडौं

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएको अवस्थामा प्रभावकारी कानून बनाउन ढिला गर्न नहुने बताउनुभएको छ । महिला हिंसाको १६ दिने अभियान सुरु हुनुभन्दा एक दिन अघि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र सञ्चारिका समूहले आज आयोजना गरेको नेपालमा महिलामाथि बढ्दै गएको डिजिटल हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सचिव रानामगरले नेपालमा साइबर कानून बनाउन अब ढिला गर्न नहुने बताउनुभयो ।

 नेपालमा साक्षरता बढेसँगै डिजिटल हिंसा बढेको तथ्यांक प्रस्तुत गर्दै सचिव रानामगरले भने, आर्थिक वर्ष २०७५–०७६ मा बालबालिकाविरुद्ध १० वटा र महिलाविरुद्ध १९४ वटा डिजिटल हिंसाको उजुरी प्रहरीमा परेको थियो, त्यो संख्या बढेर ०८१–०८२ मा बढेर बालबालिकाविरुद्ध भएको हिंसा ४ सय २१ र महिलाविरुद्ध झन्डै ८ हजार उजुरी प्रहरीमा दर्ता भएको छ । यो एकदमै चिन्ताको विषय हो ।’सामाजिक नियमनको पहुँच राज्यले राख्न अत्यन्त जरुरी भइसकेको सचिव रानाको भनाइ थियो। 

कार्यक्रममा साइबर क्राइम ब्यूरोकी प्रहरी निरीक्षक दीपा भट्टराईले २०८१ मा ९ हजार साइबर क्राइमका उजुरी दर्ता भएको जानकारी दिनुभयो । साइबर क्राइमबारे देशको वर्तमान अवस्था चित्रण गर्दै भट्टराईले यो तथ्यांकमा ५० प्रतिशत महिलाविरुद्ध भएका हिंसा जोडिएको बताउनुभयो । डिजिटल क्राइममा पुरुषहरु आर्थिक अपचलनसँग जोडिएका हुन्छन् भने बाँकी महिला र बालबालिकाविरुद्ध भएका हिंसा रहेको प्रहरी निरीक्षक भट्टराईको भनाइ थियो ।

किशोरीविरुद्ध समाजमा कस्ता–कस्ता घटना हुन्छन् भन्ने उदाहरण प्रस्तुत गर्दै निरीक्षक भट्टराईले भन्नुभयो, ‘यस्ता घटनामा ब्लाकमेलिङ, यौन र बद्लाबाट प्रेरित हुने भएकाले डिजिटल हिंसा मानसिक स्वास्थ्यसँग जोडिन्छ । विश्वास र मायाको नाममा हुने यस्ता घटनाबाट अभिभावक पनि सचेत रहनुपर्छ ।’

कार्यक्रममा पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले डिजिटल हिंसामा आफू पीडित हुनुपरेको अनुभव सुनाउनुभयो । सन् २००७ बाट सामाजिक सञ्जालमा आफू जोडिएको र आफूविरुद्ध हिंसा हुँदासमेत रिर्पोटिङ गर्न नसकिएको उहाले बताउनुभयो । जेन–जी आन्दोलनकी अभियान्ता किशोरी कार्कीले छोराविरुद्ध परिवारमै विभेद हुने भएकाले हिंसा बढेको धारणा व्यक्त गर्नुभयो ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) का कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले डिजिटल हिंसा न्यूनिकरणका लागि कानुन निर्माण अत्यावश्यक भएको उल्लेख गर्नुभयो । कार्यक्रमकी सभापति सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले भौतिकभन्दा डिजिटल हिंसामा महिला धेरै पीडित हुने गरेको बताउनुभयो ।अपराधको प्रकृति समयअनुसार परिवर्तन भइरहेकाले पीडितलाई न्याया दिन कानुन अत्यावश्यक भइसकेको अध्यक्ष पन्थीले बताउनुभयो ।