कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी अर्को साता घोषणा हुने
- काठमाडौंअन्तरिम सरकारका मन्त्री कुलमान घिसिङ संरक्षक भएको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा अर्को साता हुने भएको छ । मन्त्री घिसिङको सहभागितामा आगामी बुधवार पार्टी घोषणा गरिने नेताहरुले बताएका छन् । सो पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ ।
नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टी प्रवक्ता राजु थापाले जानकारी दिनुभयो । आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता थापाले पार्टी घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने उहाँको भनाइ छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझा पार्टीबीच पर्सी आइतवार एकता घोषणा गरिने भएको छ । विवेकशील साझाले पार्टी एकताका लागि निर्णय गरेपछि अहिले संगठनात्मक बिषय मिलाउने पहल भइरहेको नेताहरुले बताएका छन् ।