राष्ट्रिय

विश्व माटो दिवस मनाइदै

काठमाडौं

नेपालमा परीक्षण गरिएका माटोमध्ये झन्डै ५४ प्रतिशत अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत क्षारीय रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गरेको अध्ययनमा देखिएको छ । विशेषगरि नेपालका पूर्वी क्षेत्रका माटो पश्चिमतर्फको तुलनामा बढी अम्लीय पाइएका छन् । अधिकांश माटोमा प्रांगारिक पदार्थको मात्रा न्यून छ । ३७ प्रतिशत माटोमा कम, ४५ प्रतिशतमा मध्यम र १८ प्रतिशतमा उच्च स्तरको प्रांगारिक पदार्थ मात्र रहेको मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्यांकमा उल्लेख छ । तराईका माटोमा हिमाल र पहाडको तुलनामा प्रांगारिक पदार्थ झनै कम पाइएको छ । 

यस्तै, भूक्षयका कारण नेपालमा हरेक वर्ष करिव १ दशमलव ८ मिलिमिटर माथिल्लो सतहको माटो नष्ट हुने गरेको पाइएको छ । देशभर २८ प्रतिशत माटोमा नाइट्रोजनको मात्रा कम रहेको छ भने, ४८ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा उच्च पाइन्छ भने त्यस्तै, फस्फोरस र पोटास पनि धेरै क्षेत्रमा असन्तुलित अवस्थामा पाइएको छ । यसैविच, आज डिसेम्बर ५, विश्व माटो दिवस मनाइंदैछ । दिवसको यो वर्षको नारा स्वस्थ माटो, स्वस्थ शहर रहेको छ । दिगो माटो व्यवस्थापन मार्फत माटोको उर्वराशक्ति जोगाउँदै स्वस्थ माटो भावी पुस्ताका लागि सुरक्षित राख्नु पर्नेमा विज्ञहरुले औंल्याउंदै आएका छन् ।