राष्ट्रिय

तराईमा हुस्सुका कारण जनजीवन प्रभावित, वीरगन्जका विद्यालय ५ दिन बन्द

- केएफएम डेस्ककाठमाडौं

चिसो सुरु भएसँगै तराईका मधेसमा बिहानैदेखि हुस्सु लागेको छ । हुस्सु र कुहिरोका कारण तराईको जनजीवन प्रभावित भएको छ ।

जाडो बढेसँगै बिहानभरी हुस्सु लाग्दा चिसोले विपन्न नागरिकलाई समस्या भएको छ ।

घाम नलाग्दा जाडो बढेको हो ।

जाडोका कारण पशु चौपाय र मजदुरी गर्नेलाई थप समस्या भएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

केही दिनयता दिउँसोपख आकाशमा बादल लाग्ने भएकाले अन्य जिल्लामा पनि घाम राम्रोसँग लाग्न पाएको छैन ।

हुस्सु र कुहिरोले आन्तरिक उडान र सडक यातायात समेत प्रभावित भएको छ ।

यसैबीच, शितलहरसंगै बढेको चिसोको कारण पर्साको वीरगञ्ज महानगरपालिकाले बालबालिकाहरूको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै महानगरका सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाको कार्यालयले आज सूचना जारी गर्दै पुस ७ गतेदेखि ११ गतेसम्म पाँच दिनका लागि सम्पूर्ण विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको जनाएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै हालको बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको जनाएको छ ।

सूचनामा विद्यालयहरू पुनः पुस १३ गते देखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।