राष्ट्रिय

लुम्बिनीलाई ‘साक्षर प्रदेश’ घोषणाको तयारी

- घनश्याम गौतम/बुटवलबुटवल

सबै जिल्ला साक्षर घोषणा भएपछि सिंगो लुम्बिनी प्रदेशलाईनै ‘साक्षर प्रदेश’ घोषणा गर्न लागिएको छ । पुष १३ गते दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गर्न लागिएको सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

 शिक्षालाई मानव विकासको मुख्य आधार मान्दै, प्रदेशले जीवन पर्यन्त सिकाइ र स्वाभाविक शिक्षालाई प्राथमिकतामा राखेर निरन्तर कार्यक्रम गर्ने गरी साक्षरता घोषणा गर्न लागिएको हो । साक्षरता दर सुधार गरेर, प्रदेशका सबै १२ जिल्ला साक्षर घोषित भएको र उच्चविद्यालय उत्तीर्ण दरमापनि सुधार भएपछि सिंगो प्रदेशलाईनै ‘साक्षर घोषणा गर्नु लागिएको हो ।

 लुम्बिनीका १२ मध्ये ७ जिल्लाको साक्षरता दर ९६ प्रतिशत भन्दा माथी पुगेपछि साक्षर प्रदेश घोषणा गर्न लागिएको हो । सामाजिक विकास मन्त्री जन्मजयति मिल्सिनाले उपलब्धिको हिसाबले लुम्बिनी प्रदेशका १२ वटै जिल्ला साक्षर घोषणा भइसकेको उल्लेख गर्नुभएको छ ।

 सन २०२४ को तथ्याङ्क अनुसार नेपालको मानव विकास सूचकाङ्क सून्य दशमलब ६२ रहेकोमा लुम्बिनी प्रदेशको सूचकाङ्क सून्य दशलमब ६० सहित चौथो स्थानमा रहेको छ । नेपाल सरकारले अघि बढाएको ‘साक्षर नेपाल’ अभियानले १५ वर्षभन्दा माथिका सबै नागरिकलाई न्यूनतम साक्षर बनाउने लक्ष्य लिइएको छ ।