राष्ट्रिय

स्वीस कन्ट्याक्ट र सुदुरपश्चिम विश्वविद्यालयबीच साझेदारी सम्झौता

काठमाडौं ।

अन्तराष्ट्रिय संस्था स्वीस कन्ट्याक्ट र सुदुरपश्चिम विश्वविद्यालयबीच प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका प्रशिक्षकको व्यवसायिक क्षमतावृद्धि सम्बन्धी शैक्षिक कार्यक्रम अघि बढाउन साझेदारी सम्झौता भएको छ । नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल म्युलीको उपस्थितिमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त र स्वीज कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीबीच सम्झौता आदानप्रदान गरियो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिममा सिकाइ अवसर प्रदान गरी प्राज्ञिक मान्यता दिलाउने उद्देश्यले सम्झौता गरिएको स्वीस कन्ट्याक्टले जनाएको छ ।

सो अवसरमा बोल्दै राजदूत म्युलीले नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको क्षेत्रका लागि दक्ष जनशक्ति तयार पार्ने र गुणस्तरिय शिक्षणलाई सवल बनाउन दीगो मोडल सृजना गरिने बताउनुभयो । विकास सहयोग सम्पन्न भएपछि पनि संरचनागत समाधानमा सहयोग गर्ने स्वीजरल्याण्डको प्रतिवद्धतालाई सुदुरपश्चिम विश्वविद्यालयसँगको साझेदारीले प्रतिविम्वित गर्ने उहाँको भनाइ थियो ।

स्वीस कन्ट्याक्टका कन्ट्री डाइरेक्टर कार्कीले यो साझेदारी नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि महत्वपूर्ण कदम भएको बताउनुभयो । यसअघि काठमाडौं विश्वविद्यालयसँग साझेदारी गरिएको चर्चा गर्दै उहाँले प्राज्ञिक संस्थासँगको सहकार्यबाट उत्साहित भएको बताउनुभयो ।

प्राविधिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. अनोज भट्टराईले साझेदारी सम्झौतापछि पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न तथा सुदुरपश्चिम विश्वविद्यालय र बाहिर पनि स्नातक र स्नातकोत्तर तहमा क्रेडिड ट्रान्सफरका लागि योगदान हुने बताउनुभयो ।

स्वीस कन्ट्याक्टले युवाहरुका लागि गुणस्तरिय प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमसम्बन्धी क्वालिटी परियोजनामा प्राविधिक सहायता गर्दै आएको छ ।