बर्दियामा स्थानीयले घेरा हालेर चितुवा नियन्त्रणमा लिए
- बर्दियाबर्दियाको राजापुर नगरपालिका–१० कर्मनीमा गहुँबारीबाट स्थानीयले घेरा हालेर चितुवालाई नियन्त्रणमा लिएका छन् ।
आज बिहानै चितुवा गहुँबारीमा आएपछि ठूलो संख्यामा गाउँलेले घरेर राखेका थिए । सो चितुवालाई डिभिजन वन कार्यालयको समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बेहोस पारेर नियन्त्रणमा लिएको हो ।
सिमावर्ती भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबाट वस्तुभाउ चराएर फर्किने बेला हिजो बेलुकी घरनजिक चितुवाको आक्रमणमा परि सोही ठाउँका ५२ वर्षीय हेमराज बुढाथोकी घाइते भएका थिए ।
लगातार आक्रमणका घटना हुन थालेको भन्दै स्थानीयले चितुवा आतंक नियन्त्रणको माग गर्दै आएका थिए ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले नियन्त्रणमा लिएको चितुवा आफ्नो कार्यालयमा राखिएको बताउनुभएको छ ।