चिसो बढेपछि सर्लाहीका दुई पालिकाका विद्यालयमा बिदा
- सर्लाहीसर्लाहीमा केहीदिन यता बढ्दै गएको शीतलहरसँगै कठ्यांग्रिदो चिसोका कारण स्थानीय तहहरुले विद्यालयमा बिदा दिन थालेका छन् । चिसोले पठनपाठन सञ्चालन गर्न समस्या भएपछि चन्द्रनगर गाउँपालिकाले हिजोदेखि पुस २५ गतेसम्मका लागि गाउँपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो ।
पुस २६ र २७ गते सार्वजनिक बिदा रहेकाले पुस २८ गतेदेखि विद्यालय नियमित सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ ।उता हरिवन नगरपालिकाले पनि अत्याधिक चिसो र शीतलहरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै पुस १६ गतेदेखि जाडो बिदा दिएको छ ।
नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा कार्यान्वयन गरी आवश्यक विवरण शिक्षा शाखामा जानकारी गराउन अनुरोध गरेको छ ।
यी दुवै स्थानीय तहका अनुसार चिसो अझै केही दिन रहने सम्भावना भएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो । अभिभावकहरुलाई समेत बालबालिकालाई न्यानो कपडा लगाउने र स्वस्थ्यप्रति सतर्क रहन आग्रह गरिएको छ । कठ्याङ्ग्रिदो चिसोले तराई क्षेत्रको जनजीवन कष्टकर बनिरहेको छ । चिसो बढ्दा बालबालिका, बृद्धबृद्धा, अशत्त र विपन्न वर्गका मानिस बढी प्रभावित भइरहेका छन् ।