राष्ट्रिय

तेस्रो न्यूज फेस्टिबलको १५ बुदे घोषणापत्र जारी

- मनोज पौडेललुम्बिनी

नेपाल र भारतका सय बढी संचारकर्मीले बुद्ध जन्मस्थल लुम्बिनी धार्मिक तीर्थस्थल मात्र नभई विश्वभरकै महत्वपूर्ण पर्यटकीय स्थलसंगै सांस्कृतिक र शान्ति संवाद केन्द्रका रूपमा प्रवद्र्धन गर्न सञ्चार माध्यमले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता गरेका छन् ।

लुम्बिनीमा तीन दिनदेखि भईरहेको तेस्रो न्यूज फेस्टिबलको सोमबार समापन गर्दै १५ बुदे घोषणापत्र जारी गर्दै सो प्रतिबद्धता गरेका हुन् ।

राजकुमार सिद्धार्थको प्रतिमा स्थल बेबी बुद्धमा आयोजित कार्यक्रममा तथ्यमा आधारित, जिम्मेवार र सकारात्मक पत्रकारिता मार्फत नेपाल–भारत सीमापार सम्बन्धलाई सुदृढ गर्न सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने र मोफसलको पत्रकारितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्न लुम्बिनी न्युज फेस्टिभललाई नियमित र दिगो प्लेटफर्मका रूपमा विकास गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रहरी महानिरिक्षक दानबहादुर कार्की प्रमुख अतिथि रहेको समापन कार्यक्रममा लुम्बिनी प्रेस क्लबका महासचिब प्रकाश न्यौपानेले घोषणापत्र पढेर सुनाउनुभएको थियो । त्यस्तै लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवार बनाउदै संचार क्षेत्रको भूमिकालाई सशक्त बनाउने र लुम्बिनीको पर्यटन प्रवद्र्धन, लगानी आकर्षण र आर्थिक विकासकालागि जिम्मेवार निकाय बिच सहकार्य बढाउन भूमिका खेल्ने घोषणापत्रमा उल्लेख गरिएकोछ ।

त्यस्तै सीमावर्ती क्षेत्रका साझा समस्या, अवसर र सहकार्यका संभावना संचार क्षेत्रबाट प्राथमिकताका साथ उठाउने, नेपाल–भारत पत्रकारबीच अनुभव आदानप्रदान, सहकार्य र संयुक्त अध्ययनलाई निरन्तरता दिन क्षेत्रीय पत्रकार सञ्जाल विस्तार गर्ने तथा लुम्बिनी न्युज फेस्टिभलमा आएका सुझाव र निष्कर्षलाई कार्यान्वयनमा लैजान नियमित अनुगमन र संवादको संयन्त्र विकास गर्ने लगायतका निर्णय गरिएको घोषणापत्रमा उल्लेख गरिएको क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिनुभयो । 

लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यले गत शनिबारबाट बुद्ध जन्मस्थलमा सुरु भएको तेस्रो न्युज फेस्टिवलको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा भारतको सिक्किम, नया दिल्ली, लखनउ, अयोध्या, काशी, गोरखपुर, महाराजगन्जबाट स्थानीय र राष्ट्रिय स्तरका ४० पत्रकार सहभागी थिए ।

फेस्टिवलमा सीमापार सम्बन्धः आवश्यकता र संभावना, लुम्बिनीः लगानी र पर्यटनको सामथ्र्य र पत्रकारितामा प्रश्नः जिम्मेवारी र जवाफदेहिता विषयमा बिज्ञ, अध्येता, उद्योगी, पर्यटन उद्यमी र वरिष्ठ संचारकर्मीको सहभागीतामा प्यानल डिस्कसन गरिएको थियो ।