राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण
- काठमाडौंराजतन्त्र पक्षधर शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको छ ।
काठमाडौंको सभागृहमा आयोजित कार्यक्रम एक कार्यक्रममा ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै दुई पार्टीबीच एकता गरिएको हो ।
सहमति पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गर्नुभएको छ । एकतापछि पार्टीको नाम राप्रपा रहनेछ ।
पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन नै रहने र पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राष्ट्रिय प्रजातन्त्र पार्टीकै कायम हुने सहमति भएको नेताहरुले बताएका छन् ।
दुई पार्टीबीचको संगठन समायोजनबारे पनि समझदारी बनेको छ ।
राप्रपा नेपालका अन्य पदाधिकारी र सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिने भएको छ ।
त्यस्तै, जिल्ला तथा स्थानीय तहमा २०७८ को महाधिवेशनको समयमा कायम रहेका संरचनालाई आधार मानी सम्मानजनक ढंगले समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ ।
राप्रपा नेपालका जनवर्गीय संगठनलाई पनि राप्रपाका सम्बन्धित संगठनमा सम्मानजनक रुपमा समायोजन गरिने सहमति पत्रमा उल्लेख छ ।
२०७८ मा पार्टी महाधिवेशनमा पराजित भएपछि कमल थापाले केही महिनापश्चात् राप्रपा नेपाल व्युँत्याउनुभएको थियो ।