राष्ट्रिय

विदेशी पर्यटकको संख्यामा वृद्धि

- केएफएम डेस्ककाठमाडौं

भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण नेपाल भित्रिने पर्यटक घट्न सक्ने अनुमान गरिएपनि विदेशी पर्यटकको संख्यामा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

जेनजी आन्दोलन भएको सेप्टेम्बरपछिका तीन महिनामा पर्यटक आगमन बढेको बोर्डको तथ्यांकले देखाएको हो ।

बोर्डका अनुसार अक्टोबरमा १ लाख २८ हजार ४ सय ४३ पर्यटक भित्रिएका थिए । त्यसअघि २०२४ को अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका थिए ।

त्यस्तै नोभेम्बरमा एक लाख १६ हजार ५ सय ५३ पर्यटक भित्रिँदा २०२४ को नोभेम्बरमा एक लाख १४ हजार ४ सय ९६ जना नेपाल आएको तथ्यांक छ ।

डिसेम्बरमा पनि पर्यटकको संख्या त्यसअघिको वर्षको तुलनामा बढेको छ । गत डिसेम्बरमा ९८ हजार १९० पर्यटक नेपाल आएकोमा सन् २०२४ को सोही महिनामा ९२ हजार मात्रै आएका थिए ।

बोर्डले सार्वजनिक गरेको पर्यटक आगमनसम्बन्धी तथ्यांक अनुसार सन् २०२५ मा ११ लाख ५८ हजार ४ सय ५९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

जुन सन् २०२४ को तुलनामा करिब ११ हजारले बढी हो । गत वर्ष ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।