राष्ट्रिय

कंग्रेसद्धारा नियमित महाधिवेशन वैशाखमा गर्ने गरी नयाँ तालिका पारित

- केएफएम डेस्ककाठमाडौं

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउने तयारी गरिरहँदा नेपाली कंग्रेसले आगामी वैशाखको अन्त्यमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ ।

कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णवहादुर खड्काले वैशाख २८ देखि महाधिवेशन गर्ने कार्यतालिका पेश गर्नुभएको थियो ।

सो प्रस्तावलाई बैठकले पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । पुष अन्तिम साताका लागि तोकिएको मितिमा महाधिवेशन हुन नसकेपछि नियमित महाधिवेशनको नयाँ तालिका ल्याइएको हो ।

महामन्त्री थापाले बहुमतका आधारमा नियमित महाधिवेशनको नयाँ मिति तय गरिएको र त्यसमा आफूहरुको फरक मत रहेको बताउनुभयो । यो बिषयमा अझै सहमतिको पहल गरिने थापाको भनाइ थियो । विशेष महाधिवेशन पक्षधर नेताहरुले कुनै पनि हालतमा विशेष महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने जिम्मेवारी पार्टी केन्द्रले पूरा गर्ने विश्वास समेत व्यक्त गरेका थिए ।

विशेष महाधिवेशनको माग कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख्न तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै अघि बढ्न आवश्यक भएको नेता सुबास पोखरेलले बताउनुभयो ।

अर्का नेता देवराज चालिसेले ४० प्रतिशत प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेपछि त्यसलाई सम्वोधन गर्नु बाध्यकारी व्यवस्था भएको बताउनुभयो ।