राष्ट्रिय

बैतडीका दुई स्थानीय तहमा महिनौंदेखि कामकाज ठप्प

बैतडी

बैतडीका दुई स्थानीय तहमा महिनौंदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक–प्रशासनिक कामकाज ठप्प भएको छ । जिल्लाका १० स्थानीय तह मध्ये सुर्नया र पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी दुई वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएपनि गाउँपालिकामा हाजिर नभई अन्यत्र सरुवा गरिदिएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् । 

सूर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको निर्वाचन आयोगमा सरुवा गरिदिएयता पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ । 

यस्तै कात्तिक अन्तिम साता मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीको सरुवा बैतडीकै मेलौली नगरपालिकामा गरेपछि पञ्चेश्वर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो ।