मुक्तिनाथ अधिकारीको २४ औँ स्मृति दिवसमा न्यायको माग
लमजुङमुक्तिनाथ अधिकारीको सम्झनामा २४ औं स्मृति दिवस मनाइएको छ । लमजुङको सुन्दरबजार नगरपालिकास्थित पाणिनी संस्कृत माध्यमिक विद्यालयमा आज तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका मुक्तिनाथ अधिकारीको २४ औं स्मृति दिवसको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो ।मुक्तिनाथ स्मृती प्रतिस्ठानले पाणिनी संस्कृत माध्यमिक विद्यालयमा अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले मुक्तिनाथ अधिकारीको हत्या भएकाले चिरस्मरणका लागि नगरपालिका प्रयासरत रहिरहने बताउँदै न्याय प्राप्तिका लागि सरकारलाई अझै बढी दबाब दिनुपर्ने बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य मोहना अनसारीले मुक्तिनाथ अधिकारीको हत्या असैह्य पीडादायी भएपनि २४ वर्षसम्म पनि पीडित परिवारलाई न्याय दिनमा सरकार असक्षम भएको बताउनु भयो । द्वन्द पीडित राष्ट्रिय सन्जालका अध्यक्ष गीता रसाइलीले २४ वर्ष सम्म राज्यले द्वन्द पीडितलाई न्याय दिनका लागि कुनै इमान्दार प्रयासै नगरेकोले एउटा परिवारले पनि न्याय नपाएको कारण जेन्जी आन्दोलन हुन पुगेको बताउनु भयो।
एम्नेष्टी ईन्टरनेशनल नेपालका अध्यक्ष बिपिन बुढाथोकीले एम्नेष्टी ईन्टरनेशनल नेपाल सदैब द्वन्द पीडित को न्यायका लागि सङै रहेको बताउदै सरकारले बिश्वसनीय बिधिप्रकृया अवलम्बन नगरेर दलका बफादार ब्यक्तिहरु राखेर काम नगर्ने आयोग बनाएर पीडितलाई झुलाउने काम मात्र गरेको बताउनुभयो । पाणिनी संस्कृत माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई २०५८ साल माघ ३ गते कक्षाकोठामा पढाइरहेको अवस्थामा लगेर हत्या गरिएको थियो । कार्यक्रममा परिवारको तर्फबाट छोरा सुमन अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
यसैबीच, स्मृति दिवसका अवसरमा पाणिनी संस्कृत माध्यमिक बिद्यालय किर्तिपुर, दुराडाडा लमजुङमा माध्यमिक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको छ ।माध्यमिक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा सर्वोच्च उच्च माध्यमिक बिद्यालयका सन्जाल मौरती प्रथम, संस्कृती सदन माध्यमिक बिद्यालयका सगुन मिश्र द्वितीय एवम् पाणिनी संस्कृत माध्यमिक बिद्यालयका आशिष भट्टले तृतीय स्थान प्राप्त गर्नु भएको थियो ।