राष्ट्रिय

१५ दिनभित्र हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह

- माधव अर्यालपाल्पा

आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले १५ दिनभित्र हातहतियार बुझाउन आग्रह गरेको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले अनुमति प्राप्त गरी घरमा राखिएका हातहतियार बुझाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।

जिल्लाभित्र व्यक्तिगत रुपमा राखिएका ईजाजत प्राप्त हातहतियारहरु आजदेखि १५ दिन भित्र नजिकको प्रहरी ईकाई वा जिल्ला प्रहरी कार्यालय पाल्पामा अनिवार्य रुपमा बुझाउन प्रशासनले आग्रह गरेको हो ।

यसरी बुझाईएका हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भएको मितिले एक महिना पश्चात सम्बन्धित धनीले फिर्ता पाउने प्रशासनले जनाएको छ ।

तोकिएको समय सीमा भित्र हातहतियार नवुझाएमा वा अटेर गरेमा प्रचलित कानुन बमोजिम कारवाही अगाडी बढाइने सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभएको छ ।