राष्ट्रिय

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ ।

पदावधि सकिन लागेको १९ मध्ये १८ सदस्यका लागि माघ ११ गते मतदान हुँदै छ ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले मतदानमा प्रयोग हुने मतपत्र छापेर सम्बन्धित प्रदेशमा पठाइसकिएको र ७ वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले मतदानका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।

सात वटै प्रदेशको राजधानीमा एकै दिन मतदान हुने छ ।

संघीय संसद् सचिवालयका अनुसार कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट दुई÷दुई तथा लुम्बिनीबाट तीन जना सदस्य निर्वाचित हुने छन् ।

कोशी प्रदेशले महिला, दलित र अन्य समूहबाट एक÷एक गरी तीन जना निर्वाचित गर्ने छ । मधेशले महिला, दलित, अपांगता वा अल्पसंख्यक व्यक्ति र अन्यबाट एक÷एक गरी चार जना निर्वाचित गर्ने छ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमले महिला र अन्य समूहबाट एक÷एक गरी दुई÷दुई जना निर्वाचित गर्ने छ ।

लुम्बिनीबाट महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहबाट एक÷एक गरी तीन जना सदस्य निर्वाचित हुने छन् ।

अर्को एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् । आयोगका अनुसार १८ पदका लागि हुने निर्वाचनमा १८ प्रकारको मतपत्र छापिएका छन् ।

निर्वाचित हुने समूह अनुसार सबै पदका लागि अलग अलग मतपत्र छन् । उम्मेदवारको नामसहितको मतपत्र छापिएका छन् ।