आयोगले उम्मेदवारको नामावली आज प्रकाशित गर्दै
- काठमाडौंनिर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत मंगलबार उम्मेदवारी दर्ता गराएका उम्मेदवार विरुद्ध परेका उजुरी छानविन गरी उम्मेदवारको नामावली आज प्रकाशित गर्दैछ ।
आज दिउंसो छानविन टुंगोमा पु¥याइ सांझ ५ बजे नाम सार्वजनिक गरिने आयोगले जनाएको छ ।
नाम सार्वजनिक भएसंगै कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा सांझ ५ देखि ७ बजेसम्मको समय दिइने आयोगको कार्यतालिका छ । यस्तै, भोली उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने जनाइएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेकामध्य ५ जना उम्मेदवारविरूद्ध उजुरी परेको छ ।
निर्वाचन आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीसहितका उम्मेदवारविरुद्ध उजुरी परेको हो ।
पूर्वप्रधानमन्त्री नेपालले रौतहट–१ बाट उम्मेदवारी दिनुभएको छ । उहाँविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन अयोग्य रहेको दाबी गरिएको छ ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टी नेपालका कैलाली–१ का उम्मेदवार भएका चौधरीविरूद्ध पनि उजुरी दर्ता भएको छ ।
टिकापुर हत्याकान्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपनि चौधरीलाई राष्ट्रपतिबाट सजाय माफी दिइएको थियो ।
त्यस्तै, सुनसरी–२ मा रास्वपाका उम्मेदवार लालबिक्रम थापा तथा भक्तपुर–२ मा रास्वपा उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठकविरूद्ध उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
१ सय ६५ निर्वाचन क्षेत्रमा गरी ३ हजार ४ सय ८४ उम्मेदवार कायम भएका छन् ।