राष्ट्रिय

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ः ठूला नेतालाई महिलाको चुनौती

- नविन कोइराला काठमाडौं

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ देशभरबाट तीन हजार चार सयभन्दा बढी उम्मेदवार मैदानमा छन् । तीमध्ये ३ सय ८८ जना महिला उम्मेदवार छन् । संख्यात्मक रुपमा महिला उम्मेदवार कम भएपनि कतिपय क्षेत्रमा उनीहरुले प्रमुख दलका प्रभावशाली नेताहरुसँग प्रतिस्पर्धा गर्दैछन् । विभिन्न दलका महिला उम्मेदवारका कारण केही निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक हुने ठानिएको छ । नेपालका विभिन्न निर्वाचन क्षेत्र मध्येका केहि चर्चामा रहेका निर्वाचन क्षेत्र र उम्मेदवारको विषय यहाँ प्रस्तुत गरिएको छ ।

पूर्वी नेपालको झापाको क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा देखिँदैछ । यो क्षेत्रमा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा राना प्रतिस्पर्धामा उत्रिएका छन् । पूर्वसभामुख घिमिरे एमालेबाट र पूर्वउपसभामुख इन्दिरा राना रास्वपाबाट उम्मेदवार भएका हुन् । सो सो क्षेत्रमा कांग्रेसबाट सरिता प्रसाईं, नेकपाबाट धर्मशिला चापागाईं, राप्रपाबाट स्वागत नेपाल र स्वतन्त्र उम्मेदवार युवराज संग्रौला लगायतबीच होडबाजी चलेको छ । यस्तै झापा १ मा पनि चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी उम्मेदवार बनेकी छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट केशवराज पाण्डे र एमालेबाट रामचन्द्र उप्रेतीले उम्मेदवारी दिएका छन् । यसअघिको निर्वाचनमा समानुपतिक सूचीबाट संसद् प्रवेश गरेकी डाँगीलाई यसपटक मतदानबाट चुनिएर सो क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर मिलेको छ ।

पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध झापा ५ मा नेपाली कांग्रेसबाट मंधरा चिमरियाको उम्मेदवारी परेको छ । जहाँ रास्वपाका तर्फबाट काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह रास्वपाबाट र नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङ लगायतको उम्मेदवारी परेको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन विरुद्ध समेत महिला उम्मेदवार खडा भएका छन् । सो क्षेत्रमा संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट चन्द्रकला सावा, जनता समाजवादी पार्टीबाट विनिता कुमारी राजवंशी र नेपाल मजदुर किसान पार्टीबाट धर्म लक्ष्मी दुवालको उम्मेदवारी परेको छ ।

हर्क साम्पाङको उम्मेदवारीले चर्चा पाएको सुनसरी एकमा रास्वपाकी गोमा तामाङले प्रतिस्पर्धा गर्दैछिन् । त्यस्तै, अघिल्लो पटक जितेकी एमालेकी भगवती चौधरी सुनसरी ३ मा कंग्रेसका विजय गच्छदार लगायत उम्मेदवार छन् । यता, सामाजिक, जातीय र राजनीतिक दृष्टिले संवेदनशील मानिएको धनुषा २ मा पनि महिला उम्मेदवार केन्द्रमा छन् । यो क्षेत्रमा नेकपा एमालेकी जुली महतो उम्मेदवार बनेकी छन् । सोही क्षेत्रमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा प्रतिस्पर्धामा छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा पनि हेबिवेट नेता विरुद्ध महिला उम्मेदवार खडा भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका अमरेश सिंह विरुद्ध सो क्षेत्रमा आम जनता पार्टीबाट रिंकी कुमारी शाहले उम्मेवारी दिएकी छन् । त्यस्तै, सप्तरी ३ मा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विरुद्ध ४ जना महिला स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । महिला उम्मेदवारले चर्चित बनेको अर्को जिल्ला हो चितवन । ३ वटा निर्वाचन क्षेत्र रहेको चितवको क्षेत्र नम्बर २ र ३ सर्वाधिक चर्चामा छ । यसअघि २ पटकसम्म भरतपुर महानगरपालिकाको मेयरका रुपमा काम गरेकी रेणु दाहाल र सोविता गौतमबीच हुने चुनावी प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । दाहाल नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेकी हुन् भने गौतम राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा होमिएकी हुन् । सो क्षेत्रमा एमालेका तर्फबाट नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ र एमालेका तर्फबाट शंकरराज थपलिया चुनावी मैदानमा होमिएका छन् ।


यस्तै चितवको क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसकी मिना कुमारी खरेलले उम्मेदवारी दिएकी छन्, जून क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिस्पर्धा गर्दैछन् । संघीय राजधानी काठमाडौंको क्षेत्र नम्बर ५ लाई पनि निकै चासोका साथ हेरिएको छ । यो क्षेत्रमा अभिनेतृ निशा अधिकारीले गतिशील लोकतान्त्रीक पार्टीबाट उम्मेदवार बनेकी छन् भने नेपाली कम्युनिष्ट पार्टीले कल्पना शर्मालाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रदीप पौडेल र राप्रपाबाट कमल थापा चुनाव जित्ने रणनीतिमा छन् ।

यसैगरि अर्को चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना र नेपाली कम्युनिष्ट पार्टीबाट मेनुका भण्डारीले उम्मेदवारी दिएका छन् । चासोका साथ हेरिएको यो क्षेत्रमा यसअघि दुई पटक पराजित भएका रविन्द्र मिश्रले राप्रपाबाट उम्मेदवारी दिएका छन् भने कांग्रेसका प्रवल थापा र एमालेका मोहनराज रेग्मी प्रतिस्पर्धामा छन् । काठमाडौं २ मा राप्रपाले कुन्ती देवी पोखरेललाई उम्मेवार बनाएको छ । यो क्षेत्रमा एमालेबाट मणिराम फुयाल, कांग्रेसबाट कबिर शर्मा, नेकपाबाट नितेश पौडेल र रास्वपाबाट सुनिल केसी प्रतिस्पर्धामा छन् ।

काठमाडौं उपत्यकाका भित्र रहेका १५ वटा निर्वाचन क्षेत्र मध्येको अर्को चर्चाको केन्द्र बनेको ललितपुर ३ मा पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिको निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले उम्मेदवारी दिएकी छन् । कार्कीसँग एमालको सन्दन थापा मगर, कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीबाट राज काजी महर्जन प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस्तै अघिल्लो निर्वाचनमा गोरखा २ बाट विजयी भएर यस पटक रुकुम पुगेका नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध कांग्रेसले कसुम देवी देवी थापालाई उम्मेदवार बनाएको छ । उता, एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले टासी ल्हान्जोमलाई उम्मेदवार बनाउँदा उनी विरुद्ध एमालेका दल फडेरा, कांग्रेसका जयपति रोकाया र नेकपाबाट दीपेन्द्र रोकायाले उम्मेदवारी दिएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा पनि राप्रपा र रास्वापबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो निर्वाचनमा विजयी भएका राप्रपाका ज्ञानेन्द्र शाही र रास्वपाकी विनिता कठायतबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रत्यक्षतर्फ दलहरुबाट भन्दा पनि स्वतन्त्र उम्मेदवारी दिने महिला बढी छन् ।