इट इज माई ट्यालेन्टले गर्यो नेपालमा पहिलो मासिक विजेता घोषणा
काठमाडौँ । सार्वजनिक सहभागिता मार्फत विजेता छनोट गर्ने विश्वव्यापी खुला प्रतिभा मञ्च ‘इट इज माई ट्यालेन्ट’ ले नेपालमा आफ्नो इतिहासकै पहिलो मासिक विजेता औपचारिक रूपमा घोषणा गरेको छ । रोहित मण्डल ‘सिजन १–जनवरी’ का मासिक विजेता घोषित हुनुभएको छ । उहाँ प्लेटफर्मको आधिकारिक युट्युब च्यानलमार्फत भएको सार्वजनिक भोटिङमा सर्वाधिक समर्थन प्राप्त गर्न सफल हुनुभएको हो । सिजन १ जनवरीका विजेता पूर्ण रूपमा जनताको सहभागिताको आधारमा चयन गरिएको हो । प्रतियोगितामा एक भ्यु बराबर एक अंक र एक लाइक बराबर दुई अंकको पारदर्शी प्रणाली अपनाइएको थियो । यस प्रक्रियाले कुनै पनि निर्णायक, अडिसन वा पर्दा पछाडिको छनोटबिना निष्पक्ष र खुला प्रतिस्पर्धा सुनिश्चित गरेको हो ।
प्रतियोगितामा सहभागी अन्य प्रतिभाशाली प्रतिस्पर्धीहरूमध्ये रोहित मण्डलको प्रस्तुति दर्शकहरूबाट अत्यधिक रुचाइएको थियो । यो उपलब्धिले नेपालमा ‘इट इज माई ट्यालेन्ट’ को मासिक प्रतिभा पहिचान यात्राको महत्वपूर्ण सुरुवातलाई अघि बढाउने अपेक्षा गरिएको छ । प्रतियोगिता जितेपछि प्रतिक्रिया दिँदै रोहित मण्डलले यो जित आफ्नो लागि अत्यन्तै महत्वपूर्ण भएको बतउनुभएको छ । उहाँले भन्नुभयो, “‘इट इज माई ट्यालेन्ट’ ले मलाई आफ्नो प्रतिभा खुला रूपमा प्रस्तुत गर्ने अवसर दियो । दर्शकहरूको माया र समर्थनले मलाई अझै प्रेरित गरेको छ । मेरो प्रस्तुति हेरी लाइक गरेर साथ दिनुहुने सबैप्रति म हार्दिक आभारी छु ।”
‘इट इज माई ट्यालेन्ट’ को कार्यक्रम कुनै पनि व्यक्ति, कुनै पनि स्थानबाट, बिना अडिसन, एजेन्ट वा पूर्वाग्रह आफ्नो प्रतिभा प्रस्तुत गर्नको लागि बनाइएको प्लेटफर्म हो । सबै स्वीकृत प्रस्तुति प्लेटफर्मको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिन्छन् र नतिजा पूर्ण रूपमा दर्शकहरूको सहभागिताबाट निर्धारण हुन्छ । नेपालमा सिजन १ को सुरुवातसँगै प्रत्येक महिना मासिक विजेता घोषणा गरिने आयोजक इट इज माई ट्यालेन्ट नेपालले जनाएको छ । यी मासिक विजेताहरू सिजनको अन्त्यमा प्रदान गरिने ‘ट्यालेन्ट अफ द इयर’ उपाधिका लागि समेत योग्य हुनेछन् । प्रतियोगिता सम्बन्धी विवरण तथा प्रस्तुति हेर्न इट इज माई ट्यालेन्ट नेपालको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ ।