राष्ट्रिय

बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग नगर्न आग्रह

काठमाडौं

शिक्षाका लागि राष्ट्रिय अभियानले निर्वाचनका गतिविधिमा बालबालिकाको प्रयोग नगर्न सरोकारवालालाई अपिल गरेको छ । 

अभियानका अध्यक्ष लवराज ओलीले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा मुनिका बालबालिका कुनै पनि बहानामा निर्वाचन वा राजनैतिक गतिविधिमा संलग्न नगराउन सम्बन्धित सबै पक्षलाई गम्भीर र जिम्मेवार हुन आग्रह गर्नुभएको छ । 

प्रत्यक्ष रूपमा जुलुस, सभा, ¥याली, आन्दोलन, प्रचारप्रसारमा सहभागी नगराउन अपिल गरिएको छ । अप्रत्यक्ष वा प्रतिकात्मक रुपमा झण्डा, नारा, फोटो, भिडियो, सन्देश लगायत डिजिटल माध्यममा पनि बालबालिकाको प्रयोग नगर्न सचेत गराइएको छ । 

बालबालिकालाई दलीय, राजनीतिक, हिंसात्मक वा निर्वाचनसम्बन्धी गतिविधिमा संलग्न गराउनु कानुनी रूपमा पूर्णतः निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ । 

बालबालिकालाई निर्वाचन गतिविधिमा प्रयोग गर्दा उनीहरुको शिक्षा, सुरक्षा, मानसिक स्वास्थ्य तथा समग्र विकासमा गम्भीर नकारात्मक प्रभाव पर्ने अभियानको भनाइ छ ।