‘कान्तिपुर कन्क्लेभ–२०२६’ सुरु
काठमाडौंराजनीतिक अस्थिरता, कमजोर संस्थागत संरचना र बढ्दो जनअसन्तोषबीच मुलुकको मार्गचित्रबारे बहस गर्ने उद्देश्यसहित ‘कान्तिपुर कन्क्लेभ–२०२६’ काठमाडौंमा सुरु भएको छ । कान्तिपुर मिडिया गु्रपले बार्षिक रुपमा आयोजना गर्दै आएको कन्क्लेभ अन्तर्गत आज पहिलो दिन ६ वटा सत्रमा बहस भएका छन् । भोलि पनि ६ वटा सत्रमा बहस हुनेछ ।
कन्क्लेभको पाँचौं संस्करणको पहिलो दिन सम्बोधन गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सचेत समाजको आधार भनेकै सही सूचना, बहस र संवाद भएको बताउनुभएको छ । समाचार र विचारको दैनिक अभ्याससँगै राष्ट्रिय महत्वका मुद्दामा केन्द्रित रहेर बहस र संवादको मञ्चलाई अघि बढाइएको उहाँले बताउनुभयो ।
मुलुक निर्वाचनतर्फ उन्मुख भएपनि चुनावी नतिजाले मात्र सफलता प्राप्त नहुने अध्यक्ष सिरोहियाको भनाइ छ । यसैबीच कन्क्लेभकी प्रमुख अतिथि नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले सम्बोधन गर्नुभएको छ । इरान र विश्वभर लोकतन्त्र तथा महिला अधिकारका पक्षमा भइरहेका आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आएकी एबादीले सम्बोधनको क्रममा पछिल्लो चार दशकयता नागरिकह सडकमा उत्रिएर निरन्तर आन्दोलन गरिरहेको पृष्ठभूमि स्मरण गर्नुभयो ।