भ्रष्टाचारको जालोः सरकार गठनमा समेत विचौलिया हावी !
- काठमाडौंमुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि पहल भएपनि अपेक्षाकृत प्रगति भने हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विगत पाँच वर्षमा आयोगमा भ्रष्टाचारसम्बन्धी एक लाख ४८ हजार ५ सय वटा उजुरी दर्ता भएका छन् । यसैक्रममा आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका प्रमुखले मुलुकमा व्याप्त भ्रष्टाचारबारे केही गम्भीर सवाल प्रस्तुत गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा दर्ता भएका आयोगमा एक लाख ४८ हजार ५०० उजुरीमध्ये एक लाख सात हजार १५ उजुरीको फछ्र्योट भएको छ । यो समग्रमा उजुरीको ७२ दशमलव ८ प्रतिशत हो । विशेषगरि राज्यकोषको हानीनोक्सानी क्षतिपूर्तिका लागि पछिल्लो पाँच वर्षमा वार्षिक औसत चार अर्बभन्दा बढी बिगो मागदाबी लिइएको अख्तियारको तथ्याङ्क छ । आयोगका अनुसार विचौलिया हाबी हुँदा भ्रष्टाचारका घटनाले प्रश्रय पाएका छन् । सरकार निमार्णदेखि उच्च तहका अधिकारीहरुको नियुक्तीका विषयमा समेत शक्तिशाली विचौलियाको संलग्नता रहेको पाइएको अख्तियारकोस्थापना दिवसमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताए ।
अख्तियारका अनुसार यातायात, अध्यागमन, नापी कार्यालय, राहदानी विभाग, बैदेशिक रोजगारीका क्षेत्रमा अधिक मात्रामा भ्रष्टाचार हुने गरेको देखिएको छ । यस्तै वन र सरकारी क्षेत्रको जग्गा व्यक्तिगत प्रयोजनका लागि न्यून भाउमा प्रदान गर्ने तथा सरकारी जग्गालाई नीजिकण गर्ने जस्ता विषयमा पनि व्यापक रुपमा भ्रष्टाचार हुने गरेको पाइएको छ । यद्यपि सरकारी सरकारी जिम्मेवार निकायले भने आफूहरु भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धनका लागि प्रतिवद्ध रहेको बताउँदै आएका छन् । नागरिकका दैनिकीसँग जोडिएका विभिन्न क्षेत्रमा हुने भ्रष्टाचार र अनियमिततका घटनामा सम्बन्धीत कार्यालय र निकायका प्रमुख जिम्मेवार हुने प्रधानमन्त्री सुशीला कार्कीले बताइन् ।
भ्रष्टाचार र अनियमिततााई आधार मानेर काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्ययन प्रतिवेदनले पनि नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीमा स्तर सुधार हुन नसकेको देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२५ को सर्वेक्षणअनुसार भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले सयमा ३४ अंक मात्र पाएको छ, अघिल्लो वर्षको प्रतिवेदनमा पनि नेपालको अंक ३४ नै थियो । ५० भन्दा कम अंक पाउने मुलुकलाई ट्रान्सपरेन्सी इन्टरनेसनलले अति भ्रष्टाचार हुने देशको सूचीमा समेट्दै आएको छ । नेपालमा व्यापक मात्रामा भ्रष्टाचार भइरहेको अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनको निष्कर्षलाई अख्तियारको अनुसन्धानले समेत थप प्ुष्टि गरेको छ । राज्यका महत्वपूर्ण निकायका अधिकारीले पदिय जिम्मेवारी पूरा नगर्दा भ्रष्टाचार मौलाएको अख्तियारका प्रमुख राई बताउँछन् ।
कतिपय सन्दर्भमा आयोगले दिएका सुझावहरु कार्यान्वयन नगर्ने तथा जिम्मेवार निकायले कानूनी उत्तरदायित्व पूरा नगर्दा भ्रष्टाचार नियन्त्रणमा समस्या भइरहेको अख्तियारको निष्कर्ष छ । राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्था गुणस्तरी हुन नसक्दा भ्रष्टाचार जन्य घटनाको अनुसन्धान प्रभावकरी हुन नसकेको तथा विकसीत प्रविधिसँग मिल्ने जनशक्ति अभावका कारण पर्याप्त काम गर्न नसकिएको सरकारी क्षेत्रको दाबी छ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले शक्ति र पदको दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउन अझै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
आयोगले विभिन्न १२ विषयक्षेत्र र २४ मन्त्रालय–निकायलाई ४ सय २८ सुझाव दिएकोमा ती सुझाव कार्यान्वयन सन्तोषजनक नरहेको जनाएको छ । अख्तियारका प्रमुख राईले कसुर गर्नेमाथि अख्तियारले दण्डात्मक कारबाही गर्ने तर सुशासनका लागि दण्डात्मक मात्रै सुधारको आधार नभएको बताए । नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार र अनियमिततालाई अनुसन्धानको दायरामा ल्याउन सरोकारवाला निकायको भूमिका समेत आवश्यक हुने उनको भनाइ छ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले गर्ने अनियमितता र भ्रष्टाचारका घटनाबारे अनुसन्धान गर्ने गर्ने संबैधानिक निकायको रुपमा २०४७ साल माघ २८ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको गठन भएको हो । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको आयोग मातहत विभिन्न स्थानमा ८ वटा कार्यालय सञ्चालनमा छन् ।