राष्ट्रिय

रामेछाप बस दुर्घटनाको सत्यतथ्य छानबि गर्न यातायात व्यवसायीको माग

काठमाडौं

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रामेछापमा भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । 

महासंघले भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन तत्काल कदम चाल्न सरकारलाई आग्रह समेत गरेको छ । काठमाडौँबाट ओखलढुङगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका–६, बेनीघाट पुल नजिक तामाकोशी नदीमा खसेको थियो ।

सो दुर्घटनामा परी १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यसैबीच महासंघले आफू मातहतका निकाय र बस व्यवसायीलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, यात्रुको टिकट काट्दा अनिवार्य रूपमा पहिचान खुल्ने गरी नाम, सम्पर्क नम्बर उल्लेख गर्न तथा दैनिक रेकर्ड अद्यावधिक गर्न निर्देशन दिएको छ ।