राष्ट्रिय

निर्वाचनमा हुने अत्याधिक खर्चले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको छ : पोखरेल

काठमाडौं

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा हुने अत्याधिक खर्चले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको बताउनुभएको छ । निर्वाचन आयोगले आज गरेको अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा हुने अत्याधिक खर्चले सुशासनमा चुनौती खडा गरेको टिप्पणी गर्नुभयो । 

पोखरेलले ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली र आगामी निर्वाचनका लागि स्रोत जुटाउनु हुने गरेको जिकिर गर्नुभयो ।

यसले गर्दा जनप्रतिनिधिको ध्यान जनताको आवश्यकता पूर्ति गर्नुभन्दा पनि चन्दादाताको स्वार्थ सिद्ध गर्नतर्फ मोडिने गरेको उहाँको तर्क छ । उहाँले निर्वाचन खर्च सीमाभित्र राख्ने देशहरूमा मात्र भ्रष्टाचार नियन्त्रण र सुशासन सम्भव भएको स्पष्ट पार्नुभयो । 

यसैबीच,आयोगका सचिव कृष्णबहादुर राउतले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आर्थिक अनुशासनमा बाँध्न र निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको जानकारी दिनुभएको हो । 

सचिव राउतले निर्वाचनलाई जनउत्तरदायी र विश्वसनीय बनाउन आर्थिक पारदर्शीता पहिलो सर्त भएको बताउनु भयो ।