प्रतिनिधि सभा विघटन विरूद्धको रिटको पेशी फागुन २२ मा
काठमाडौंप्रतिनिधि सभा विघटनविरूद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ । सर्वोच्चको संवैधानिक इजलासमा संसद् विघटनविरूद्ध १७ वटा रिट निवेदन परेको थियो ।
सो रिट निवेदनको सुनुवाइका लागि मिति तय भएको छैन । अदालतले सो विवादमा साधारण तारिख यही फागुन २२ गतेका लागि तोकेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
संसद् विघटनविरूद्ध परेको रिट निवेदनमा गत कात्तिक १२ गते संवैधानिक इजलाससमा सुनुवाइ गरी बाटोको म्यादबाहेक सात दिनभित्र विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । विपक्षीहरूबाट लिखित जवाफ अदालतमा पेस भइसकेको छ ।
त्यसैगरी, सर्वोच्च अदालतको गत पुस ९ गते बसेको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन, सरकार निर्माण प्रक्रिया र संसद् पुनःस्थापनाको मागसम्बन्धीका पूरक रिट निवेदनलाई पनि एकैसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो ।