राष्ट्रिय

फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना

काठमाडौं

महिलाको स्वास्थ्य, फिटनेस तथा आत्म–सचेतनामा अभिवृद्धि गर्ने उद्देश्यले यही फागुन ३० गते काठमाडौंमा “काठमाडौं पिंक केयरएथन” आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना लेजर पोर्ट नेपालले गर्न लागेको हो । महिलालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्यसहित आयोजना गरिने केयरएथनमा महिलाको दौड, जुम्बा तथा अन्य विभिन्न आकर्षक स्वास्थ्यसम्बन्धी गतिविधि समावेश गरिएको छ ।

आयोजक संस्थाका अध्यक्ष नमराज जोशीका अनुसार घरायसी कामकाज र दैनिक जिम्मेवारीमा व्यस्त रहने महिलालाई आफ्नै स्वास्थ्यका लागि समय निकाल्न प्रेरित गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा जुनसुकै उमेर समूहका महिलाले सहभागिता जनाउन सक्नेछन्। कार्यक्रममा करिब २,५०० देखि ३,००० महिला सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका लागि चर्चित कलाकार उषा रजक लाई गुडविल एम्बासडर घोषणा गरिएको छ।

यसअघि “काठमाडौं पिंकाथन” नामबाट आयोजना हुँदै आएको उक्त कार्यक्रमलाई अघिल्लो वर्षदेखि अझ नेपालीपन झल्किने गरी “काठमाडौं पिंक केयरएथन” नामबाट सञ्चालन गर्न थालिएको हो। लेजर पोर्ट नेपाल ले सन् २०१७ देखि २०१९ सम्म लगातार तीन वर्ष उक्त कार्यक्रम आयोजना गरेको थियो। त्यसपछि कोभिड–१९ महामारी तथा विविध सामाजिक–आर्थिक कारणले कार्यक्रम केही समय रोकिएको थियो। सन् २०२४ मा पुनः आयोजना गरिएको यो इभेन्टलाई २०२५ मा सफलतापूर्वक सम्पन्न गरी अहिले २०२६ मा निरन्तरता दिँदै अझ व्यापक सहभागितासहित सम्पन्न गर्ने लक्ष्य राखिएको छ।