राष्ट्रिय

मुगुमा भाइरल ज्वरोका कारण ४ सय भन्दा बढी बिरामी

- राजबहादुर शाहीमुगु

मुगुको खत्याड गाउँपालिका –९ स्थित नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोका कारण गाउँभरि करिव ४ सय भन्दा बढी विरामी परेका छन् ।

ज्वरोका कारण बालबालिका, महिला, वृद्धवृद्धा, सबैभन्दा बढी प्रभावित भएका छन् ।

विरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, हातखुटटा दुख्ने, खाना खान मन नलाग्ने वान्त हुने जस्ता लक्ष्यण देखा पर्ने गरेको स्थानीय खेम रोकायाले बताउनुभयो ।

भाइरल ज्वरो फैलिएको नखर्जी गाउँमा रहेको स्वास्थ्य संस्थामा जनशक्ति र औषधी दुवै अभावले गर्दा उपचारमा कठिनाई भएको छ ।

उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट चिकित्सक सहितको टोली गाउँ पुगेपनि भाइरल ज्वरो अझै नियन्त्रणमा आउन नसकेको स्थानीयको भनाई छ ।

ज्वरोका कारण दैनिक २५ जना भन्दा बढी बिरामी उपचार गर्न आउने गरेको नर्खजी स्वास्थ्य केन्द्रका इन्चार्ज अमर बिकले जानकारी दिनुभयो ।

भाइरल ज्वरोको प्रकोपले गर्दा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्थानीयलाई भोट हाल्न समस्या हुन सक्ने स्थानीयको भनाई छ ।

जिल्ला अस्पताल मुगुका प्रमुख डा निर्मल नगरकोटीले ज्वरो फैलिएको क्षेत्र नजिकै रातापानी प्राथमिक स्वास्थ्य केन्द्र बाट स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।