राष्ट्रिय

आचारसंहिता उल्लंघन घटनाका सम्बन्धमा ९९ प्रतिशत उजुरी फस्र्योट

- केएफएम डेस्ककाठमाडौं

निर्वाचन आचारसंहिता उल्लंघन घटनाका सम्बन्धमा निर्वाचन आयोगको केन्द्र र जिल्लास्तरमा प्राप्त उजुरीमध्ये ९९ प्रतिशत उजुरी फस्र्योट भएको छ ।

आयोगका अनुसार आचारसंहिता लागु भएपछि जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको थियो ।

त्यसमध्ये एक हजार ६१ वटा अर्थात ९९ प्रतिशत फस्र्योट भएको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।

आयोगका अनुसार प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २ सय ४४ वटा उजुरी परेका छन् ।

सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।

प्राप्त उजुरीमध्ये ९७ वटा लिखित र ९७९ वटा टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएको आयोगले जनाएको छ ।

आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा भने इमेल, व्यक्तिगत दर्ता तथा सञ्चार माध्यमबाट २५४ उजुरी लिइएको थियो ।

सोमध्ये ८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा ५७ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।

आयोगमा प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठुला तुल ब्यानर र झन्डा प्रयोग गरेको, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको लगायतका छन् ।