नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित मैदानमा उत्रेको हुँ : अम्बिरबाबु गुरुङ
काठमाडौंकोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये एउटा मात्रै निवार्चन क्षेत्र भएको जिल्ला ओखलढुंगा पनि हो । जहाँ पटक पटक जितेका नेता र नयाँ अनुहारसहितका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा प्रमुख दल र स्वतन्त्र उम्मेदवार छन् ।
आसन्न निर्वाचनलाई लिएर मुलुकभर नै चुनावी सरगर्मी बढेको समयमा ओखलढुंगामा पनि चुनावी माहेल बढेको छ । नेकपा एमालेबाट पूर्वमन्त्रीसमेत रहेका अम्बिरबाबु गुरुङले टिकट नपाएपछि नेकपाबाट उम्मेदवारी दर्ता गराएका छन् र उनले आफ्नो राजनीतिक भविष्यमा खेलबाड भएको भन्दै आक्रोश पोखेका छन् । ओखलढुंगामा नेपाली कांग्रेसका कुमार लुइँटेल, नेकपा एमालेकी अस्मिता थापा, नेपाली कम्युनिष्ट पार्टीका अम्बिरबाबु गुरुङ लगायत प्रमुख दलका उम्मेदवारहरू छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा यसपटक भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अम्बिरबाबु गुरुङप्रति ओखलढुंगाका धेरै जनताको आशा बढ्दै गएको बताईन्छ् । यस्तै ओखलढुंगामा बलियो उपस्थिति रहेको एमालेभित्रको आन्तरिक समस्या बढ्दा एमालेबाटै विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका गुरुङको पक्षमा माहोल बढेको चर्चा हुदैँ आएको छ ।
यसअघि एमालेले ओखलढुंगाका पुराना, स्थापित र जनतासम्म झिजेका नेताहरुको आवाजलाई बेवास्ता गर्दै गाउँपालिकाको उपाध्यक्ष रहेकी अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ पक्षको सिंगो टोलीले नै विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेको थियो । यसैबिच एमालेभित्र लोकप्रिय रहेका र विद्रोहमा समेत सिंगो जिल्ला कमिटीले साथ दिए पछि गुरुङले चुनाव जित्ने सम्भावना बलियो रहेको विश्लेषण भइरहेको छ ।
यसपटक काँग्रेसबाट समेत बलिया उम्मेदवार मानिने रामहरि खतिवडाले निकट नपाएपछि ओखलढुंगामा जनताहरु विकल्पको खोजीमा छन् । विगतमा सांसद र मन्त्री बन्दा पनि जिल्लामा विकास निर्माणका काम तीव्र गतिमा अघि बढाएका गुरुङ अहिले उम्मेदवार बन्दा समेत विकासका बृहत् योजना र भिजनसहितका चुनावी एजेण्डा बोकेर घरदैलो अभियानमा व्यस्त छन् ।
यतिमात्र नभएर ओखलढुंगासहित पूर्वी पहाडी र हिमाली जिल्लाको लाइफलाइन रुम्जाटार विमानस्थलको नियमित सञ्चालन तथा स्तरोन्नति गर्ने, रुम्जाटार विमानस्थलमा फ्युल सेन्टर स्थापना गरेर वायु सेवा र पर्यटनलाई प्राथमिकता दिँदै नागरिकको जीवनस्तर समेत उकास्ने लक्ष्य राखेर यस पटक चुनावी प्रतिस्पर्धा गर्न लागेको उनी बताउछन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल, उज्यालो नेपालबाट जेनजी अभियन्ता किशोरी कार्कीले उम्मेदवार दर्ता गरेका छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट नेत्रबहादुर नेम्वाङ, श्रम संस्कृति पार्टीबाट उद्धव राईको उम्मेदवारी मनोनयन परेको छ ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका शेरबहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेशनका बजेन्द्र राई, राप्रपाका डिकप्रसाद बास्तोला, मितेरी पार्टीका कुमार तामाङ, नेपाल मजदुर किसान पार्टीका सविना प्रजापति लगायत अन्य उम्मेदवारहरूमा पिङ्की राई नरजित तामाङ रहेका छन् । तीन जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट विद्रोही नेता विक्रम दाहाल, नेकपाबाट सन्त तामाङ र पिङ्की राईले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका सबै नयाँ अनुहार हुन् । नेकपाका गुरुङ प्रदेश सांसद र मन्त्री भइसकेका व्यक्ति भए पनि प्रतिनिधिसभाको निर्वाचनमा उनी पनि नयाँ हुन् ।