फागु पूर्णिमा आज, भिडभाड नगरी पर्व मनाउन प्रशासनको आग्रह
- काठमाडौंफागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।
यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन एक आपसमा रङ र अबिर लगाएर मनाउने गरिन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावका रुपमा यो पर्व मनाउदै आइएको छ ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसपटक भने निर्वाचनका कारण प्रशासनले होली पर्व भिडभाड नगरी घर भित्रै परिवारसँग मात्रै मनाउन आग्रह गरेको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमाले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।
शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको हो ।