आजदेखि मौनअवधि सुरु हुँदै
- काठमाडौंआजदेखि मौन अवधि सुरु हुँदैछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने निर्वाचनकालागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । यो क्रम मध्यरात १२ बजेसम्म जारी रहनेछ ।
त्यसैले आज अन्तिम दिन चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा तिनका उम्मेदवारहरु व्यस्त हुने भएका छन् ।
राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन ।
आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ ।
आयोगले यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरण तोकेको छ ।
जस अनुसार निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।
यसैबीच निर्वाचनको तयारीबारे जानकारी दिन नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ ।
पार्टीको केन्द्रीय प्रचारप्रसार समितिले मौन अवधि सुरु हुनुअघि पार्टीले आफ्नो निर्वाचन तयारी, अभियान र समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको जनाएको छ ।
पत्रकार सम्मेलन आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने छ ।