राष्ट्रिय

उपत्यकाबाट ८ लाख ८४ हजार यात्रु बाहिरिए

काठमाडौं

काठमाडौं उपत्यकाबाट २० दिनमा ८ लाख ८४ हजार ९५ जना यात्रु बाहिरिएका छन् । होली र निर्वाचनले गर्दा पछिल्लो समय उपत्यका छाड्ने यात्रुको संख्या बढेको हो । 

उपत्यकाका सडकमा सार्वजनिक र निजी सवारीसाधन कम सञ्चालनमा आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले बताउनुभयो । 

डीएसपी शाहका अनुसार उपत्यकाबाट बाहिरिने सवारीलाई ट्राफिक प्रहरीले काठमाडौंको नागढुंगा, बालाजु, सामाखुसी, भक्तपुरको जगाती, ललितपुरको फर्पिङ र चापागाउँ नाकामा जाँच गरेर यात्रुलाई यात्राबारे सचेत गराएर मात्र पठाउने गरिएको छ । 

भोलि हुने निर्वाचनले गर्दा आज राति १२ बजेबाट सवारीसाधन सञ्चालन गर्न नमिल्ने भएपछि मध्यम दुरीका सवारी मात्र उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीको भनाइ छ ।