राष्ट्रिय

पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरी पक्राउ

काठमाडौं

प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरीलाई पक्राउ गरेको छ । नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो । 

गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । केहीबेरमा पत्रकार सम्मेलन गरी घटनाकाबारेमा विस्तृतमा जानकारी दिइने कार्यालयका प्रवक्ता डिसपी हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादवलाई पनि पक्राउ गरेको छ । मौनअवधिका बेला यादव नगदसहित पक्राउ पर्नु भएको हो । 

उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकाम तर्फ आउँदै गरेको स्कारपियो गाडीलाई राति करिब साढे १२ बजे संयुक्त जाँचका क्रममा यादवलाई पक्राउ गरिएको थियो । जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद गरिएको छ । प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ ।