सानीभेरी नदीमा दुई किशोरी मृत फेला, घटनाबारे अनुसन्धान सुरु
- रुकुम पश्चिमरुकुम पश्चिम बाँफीकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा दुई किशोरीको शव फेला परेको छ । एक किशोरी भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । आज बिहान दुई फरक–फरक स्थानमा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । करिब पाँच सय मिटर फरक दूरीमा दुई शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार शवको पहिचान समेत भएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको शव भेटिएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।
पुनका अनुसार हिजो तीन जना किशोरी छिमेकी गाउँको विवाहमा जान भनेर घरबाट हिडेका थिए । उनीहरूको साथमा गएकी १३ वर्षीया सपना ओलीको भने अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक पुनले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।