राष्ट्रिय

धादिङ दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं

गत फागुन ११ गते धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन बुझाएको छ । पोखराबाट काठमाडौं आउँदै यात्रुबस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएपछि सरकारले सो घटनाको अध्ययनका लागि कार्यदल गठन गरेको थियो । 

गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा गठित समितिले दुई साता अध्ययन गरेर आज गृहमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको हो । 

कार्यदलले सवारी चालकले कुनै कारणबस सवारी साधनमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा सवारी अचानक अनियन्त्रित भई दुर्घटना भएको निष्कर्ष निकालेको छ । 

प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले कार्यदलले बुझाएको प्रतिवेदनलाई चाँडो कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो दुर्घटनामा परेर १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका थिए ।