राष्ट्रिय

धनकुटाको भेडेटार–नाम्जे खण्ड अवरुद्ध

- विनोद घिमिरे/धनकुटाधनकुटा

बारम्बार सुक्खा पहिरो खसेपछि धनकुटाको भेडेटार–रविराँके सडकअन्तर्गत भेडेटार–नाम्जे खण्ड अवरुद्ध भएको छ । सामान्य वर्षापछि माथिबाट ढुंगा–माटो झर्न थालेपछि गए रातिदेखि सडक पूर्ण रूपमा बन्द भएको हो । भेडेटार इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार रातिदेखि लगातार सुक्खा पहिरो खसिरहेकाले सडक सञ्चालनमा कठिनाइ भइरहेको छ । 

भेडेटार–रविराँके सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्रा टेकले पहिरो हटाउन बिहानैदेखि डोजरलगायत उपकरण तयारी अवस्थामा राखेको छ । तर पहिरो झर्ने क्रम नरोकिएकाले काम सुरु गर्न नसकिएको प्रहरी नायब निरीक्षक प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सडक सफा गर्ने काम सुरु गरिनेछ । 

आज नै सडक खुल्ने सम्भावना कम देखिए पनि निर्माण कम्पनीका कामदार र उपकरण तयारी अवस्थामा राखिएको प्रधानले बताउनुभयो । सडक अवरुद्ध भएपछि सो मार्ग भएर यात्रा गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुसमेत प्रभावित भएका छन् । स्थानीय प्रशासनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सावधानी अपनाउन आग्रह गरेको छ ।