भ्रष्टाचार मुद्दामा पूर्वसांसद चालिसेसँग ५ लाख धरौटी माग
काठमाडौंविशेष अदालतले पूर्व सांसद सन्तोष चालिसेलाई भ्रष्टाचार मुद्दामा ५ लाख धरौटी माग गरेको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बयानपछि थुनछेक बहस गर्दै धरौटी माग गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति चालिसेमाथि मंसिर २८ गते गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा चालिसेले गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको थियो । चालिसेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर भएको छ ।
८ करोड ५६ लाख रुपैयाँको सम्पत्ति जोडेका चालिसेले ४ करोड ८८ लाख रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेको अख्तियारको दाबी छ । योमध्ये चालिसेले ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेका थिए, अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।