राष्ट्रिय

लामिछानेसहितको मुद्दाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा

काठमाडौं

रास्वपाका सभापति रवि लामिछानेसहितको देशभरका विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिटको सुनुवाइमा जवाफी बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा आज जवाफी बहस सुरु भएको थियो । 

आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमणकुमार श्रेष्ठ र अधिवक्ता दिपेन्द्र झा र नारायणदत्त कडेँललगायतले बहस गरेका थिए । बहसमा उनीहरूले अभियोजन नै जबरजस्ती गरिएकाले महान्यायाधिवक्ताले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ को अधिकार प्रयोग गरी अभियोगपत्र संशोधन गरेको तर्क गरेका थिए । 

लामिछानेका वकिलको बहसपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीलगायतले जवाफी बहस गरेका थिए । उनीहरूले रिट जारी हुनुपर्ने भन्दै अभियोगपत्र संशोधन नभई मुद्दा फिर्ता भएको र महान्यायाधिवक्ताले आफ्नो कानुनी अधिकार दुरुपयोग गरेको तर्क गरेका छन् ।