खोटाङमा अबरुद्ध विद्युत सञ्चालनमा
- खोटाङखोटाङमा अबरुद्ध केन्द्रीय प्रसारणको विद्युत सञ्चालनमा आएको छ । सोलुखुम्बुबाट ल्याइएको ३३ केभी प्रसारण लाइन मर्मतपछि हिजो रातीदेखि सञ्चालनमा आएको हो । ३३ केभी प्रसारण लाइन हिजो बेलुकी ५ बजेतिर सोलुखुम्बु र ओखलढुङ्गाको बीचमा पर्ने तिङ्ला सव–स्टेसन नजिकै बिग्रिएको थियो ।
सो लाइन ओखलढुङ्गा वितरण केन्द्रका कर्मचारीले मर्मत गरी राती १० बजे सञ्चालनमा आएको नेपाल विद्युत प्राधिकरण बुइपा सव–स्टेसनका इन्चार्ज सुजन वास्तोलाले बताउनुभयो । उहाँका अनुसार जिल्लामा वितरण गरिएको हलेसी तुवाचुङ, दिक्तेल रूपाकोट मझुवागढी, ऐसेलुखर्क, रावाबेसी, केपिलासगढी लगायतका क्षेत्रको लाइन सञ्चालनमा आएको छ ।
साप्सुखोला पारिका ५ गाउँपालिकामा वितरण गरिएको बागेढुङ्गा सव–स्टेशन अन्तरगतका लाइन भने आजै दिउसोबाट सञ्चालनमा आउने वास्तोलाले जानकारी दिनुभयो । बागेढुङ्गा सव–स्टेसनबाट साप्सुपारिका दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका, बारापोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकामा विद्युत लाइन जडान गरिएको छ ।
५ गाउँपालिकामध्ये साकेला गाउँपालिकामा गत चैत २ गतेदेखि नै विद्युत अबरुद्ध छ भने अन्य ४ गाउँपालिकामा चाहिँ हिजो बेलुकीदेखि विद्युत अबरुद्ध भएको हो ।